काठमाडौँ, ५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले आफ्नै स्याटलाइन राख्ने तयारी गरिरहेको र त्यसको अर्को कानून नबन्दासम्मको लागि सञ्चालनको जिम्मा प्राधिकरणलाई दिने बताउनुभएको छ ।
प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी गरेको बताउँदै निजी क्षेत्रप्रति नकारात्मक धारणा राख्ने भन्दा पनि समान व्यवहार गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक स्थिरता भएन भने नीतिगत अस्थिरता पैदा हुन्छ, नीतिगत अस्थिरताले विकास निर्माणको सम्पूर्ण कामलाई ध्वस्त बनाइदिन्छ, सरकारले देश विकास गर्ने सङ्कल्प गरेकोले त्यो पूरा गर्छ । प्राधिकरणसँग धेरै अवसर छन् तर फ्रिक्वेन्सी लिने काम नगर्ने, ठेक्का लिने काम नगर्ने, कागजको रिपोर्ट मात्र हाल्ने जनतालाई झुक्याउने, सरकारलाई झुक्याउने र संस्थालाई बदनाम बनाउनेलाई प्राधिकरणले टुलुटुलु हेरेर बस्न मिल्दैन ।”










प्रतिक्रिया दिनुहोस्