नुवाकोट, ५ चैत । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागेको हो ।
सैँतीस मेगावाट क्षमताको आयोजनाले गएको फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो ।
मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । यही आधारमा कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु। १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
“बिहीबार खुला गर्ने शेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ । उक्त कार्यमा एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य रु १०० अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने रु १० मात्र तोकिएको छ ।
जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको छ ।
गएको वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ । जसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा)का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि (शेयरधनी सम्झौता भएको बखत विसं २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी) पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्