राजनीति

प्लास्टिकको उत्पादन तथा प्रयोगमा प्रतिवन्ध लगाउनु पर्छ : सांसद डा. राई



काठमाडौँ, ११ चैत । राष्ट्रिय सभाका सदस्य डा. विमला राई (पौडेल)ले बढ्दो प्लास्टिकको प्रयोग तथा उत्पादनलाई प्रतिवन्ध लगाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आइतवार बसेको बैठकमा ध्यानाकर्षण प्रस्ताव राख्दै सांसद राईले काठमाडौँ उपत्यका लगायतका ठाउँहरुमा प्रदुषणको मूख्य कारण प्लास्टिक नै भएको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यका सहित नयाँ सरह विस्तार हुँदै गरेको ठूला सहरहरु प्लास्टिक लगायतका फोहोरका कारण अत्यन्तै जोखिममा रहेको उल्लेख गर्नुभयो ।

प्षस्टिकको प्रयोगले जलवायु परिवर्तनमा समस्या उत्पन्न हुने बताउँदै डा. राईले एक पटक मात्र प्रयोग भई फालिने प्लास्टिकका झोला नै अहिलेको मूख्य समस्या रहेको बताउनुभयो । उहाँले २०७१ सालको सरकारले प्लास्टिक प्रयोगको प्रतिवन्ध लगाएको सूचना प्रकाशित गरे पनि त्यसको कार्यान्वयन नहुनुको कारण माग समेत गर्नुभयो । सूचना प्रकाशित गरेको तर कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै उहाँले किन कार्यान्वयन भएन, अनुगमन कसरी भइरहेको छ ? भनि सम्बन्धीत मन्त्रालयलाई प्रश्न समेत गर्नुभएको छ ।

काठमाडौँ उपत्यकामा मात्र एक पटक प्रयोग गरी फाल्ने करिव १० लाख रहेको साथै जम्मा फोहोरको ११ प्रतिशत फोहोर प्लास्टिकले ओगट्ने गरेको जानकारी गराउँदै उहाँले नेपालमा जम्मा प्रत्येक दिन २०४ टन फोहोर थुप्रने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, प्लास्टिकको प्रयोगले आगामी पुस्ताका मानिसले खुट्टा टेक्ने ठाउँ हुन्छ की हुँदैन ? कस्तो खालको संसार, कस्तो खालको सहर हाम्रा लागि र हाम्रो सन्ततीका लागि छोड्दैछौं ?’ भनि प्रश्न समेत गर्नुभयो ।

प्लास्टिकको कम प्रयोग, पुनः प्रयोग र प्लास्टिकलाई रिसाइकल गर्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड रहेको थियो ।