समाचार

प्रहरीद्वारा घरदैलो तथ्यांक संकलन शुरु



‘सुरक्षा बाहेक अन्य प्रयोजनमा दुरुपयोग हुँदैन’ : प्रहरी

काठमाडौं, १३ चैत । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले शान्ति सुरक्षा प्रयोजनको लागि घरदैलो तथ्यांक संकलनको कार्य बुधबारदेखि काठमाडौं महानगरपालिकाको १०, ३१ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ वडामा शुरु भयो ।

घरदैलो कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको कार्यक्षेत्रमा पर्ने ती ६ वटा वडाका सबै घरको तथ्यांक संकलन गरी यद्यावधिक गरी घरधनी र भाडावाल व्यक्तिको शान्ति सुरक्षा कायम गर्दै र नेपाल प्रहरीसंग सम्वन्धित सूचनामूलक र अत्यावश्यक टेलिफोन नम्बर भएको स्टिकर ती घरमा टाँसिनेछ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको आयोजना एवम् महानगरको १०, ३१ र ३२ वडा कार्यालयहरु तथा सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आयोजित घरदैलो शुभारम्भ कार्यको वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले तथा ३१ नं का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले कात्यायनी चोक नजिकको आनन्द इभेन्ट बेंक्वेटमा शान्ति सुरक्षा सम्वन्धि स्टिकर टाँसेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

महानगरको १०,३१ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ मा गठित वडा, टोल, विद्यालय तथा सामाजिक संघसंस्था—प्रहरी समन्वय समितिका पदाधिकारी तथा तीनवटै वडाका वडाध्यक्ष र वडासदस्यहरुको सहभागितामा सो कार्यको शुभारम्भ गरिएको थियो ।

घरदैलो अभिायनमा टाँसिने सूचनामूलक स्टिकर छाप्न आर्थिक सहयोग गर्ने ३ वटै वडा कार्यालय तथा काव्य स्कुल नयाँबानेश्वर का संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, सनशाइन स्कूलका प्रिन्सिपल तेज श्रेष्ठ, न्यू श्राईन एकेडेमीका प्रिन्सिपल विनोद तिमल्सिना लगायतका एक दर्जन विद्यालयलाई प्रशंसापत्रबाट सम्मानित गरियो ।

यसैगरि समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने अरनिको टेलिभिजनका सहसम्पादक वरिष्ठ पत्रकार बलराम प्यासीलाई समेत डिएसपि काफले तथा ३१ नं का वडाध्यक्ष भण्डारीले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै वृत्त प्रमुख डिएसपि काफ्लेले नेपाल प्रहरीले बुधबारदेखि शुरु गरेको घरदैलो तथा तथ्यांक संकलन कार्य विशुद्ध शान्ति सुरक्षाको लागि मात्रै भएको र त्यसबाट संकलित व्यक्तिगत तथ्यांक अन्य प्रयोजनको लागि दुरुपयोग नहुने प्रष्ट पारे ।

कार्यक्रममा १० नं का वडाध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, ३२ का अध्यक्ष नवराज पराजुली, कोटेश्वर प्रभागकी प्रहरी निरीक्षक एलिजा गिरी तथा मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले लगायतले बोलेका थिए । कार्यक्रममा न्यू श्राइन एकेडेमीका विद्यार्थीहरुले सन्देशमूलक नृत्य प्रस्तुति गरेका थिए ।