काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ ।
निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनए विएच)मा सूचीकृत भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन, जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ । गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प छ ।”
आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्