राजनीति

४१ जिल्लामा नेकपाको एकता टुंगियो (भागबन्डा सहित)



काठमाडौँ, १४ चैत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ ।

पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन् । झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ । ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट पाँच पूर्वमाओवादीले चार तहको नेतृत्व गर्नेछन् ।

त्यस्तै मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ । १६ तहमध्ये तत्कालीन एमालेले ९ तह र माओवादीले सात तहको नेतृत्व गर्नेछन् । भोजपुरका ९ तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।

डडेलधुराका सात स्थानीय तहमध्ये ४ तहमा पूर्वएमाले र ३ वटा तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्नेछन् । दाङका १० तहमध्ये ६ को नेतृत्व एमाले र ४ मा माओवादीको नेतृत्व रहने छ । दार्चुलाका ५ तह पूर्वएमाले र ४ तह पूर्वमाओवादीको भागमा परेको छ।

बाजुरका ९ स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति भएको छ । बैतडीका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व लिने समझदारी भएको छ ।

रामेछापका आठ तहमध्ये ५ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले नेतृत्व लिनेछ । दोलखाका नौ स्थानीय तहमध्ये ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीले नेतृत्व लिने गरी सहमति बनेको छ । सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा पनि एकता टुंगिएको छ। जिल्लाका दुवै नगरपालिकासहित ५ स्थानीय तह पूर्वएमाले र चार गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व पाएको छ ।

पाल्पाका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व पाएको छ । गुल्मीका १२ स्थानीय तहमध्ये ७ वटामा पूर्वएमाले र ५ वटामा पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति बनेको छ । रोल्पाको १० स्थानीय तहमध्ये ४ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ६ स्थानीय तहमा पूर्वमाओवादीले नेतृत्व लिने भएको छ । प्युठानमा पूर्वएमालेले ५ र पूर्वमाओवादीले ४ ओटा स्थानीय तहमा नेतृत्व लिने गरी भागबन्डा टुंगिएको छ ।