काठमाडौँ, १५ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विश्वमा शान्ति स्थापना गर्न तथा नेपालको आर्थिक रुपान्तरणको लागि संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
समसामयीक विषयमा छलफल तथा भेटघाटको क्रममा अमेरिका पुग्नुभएका मन्त्री पोखरेलले आज संयुक्त राष्ट्र संघका महासचिव श्री एंटोनियो गुटरेससंग भेटवार्ताका क्रममा उक्त कुरा बताउनुभएको हो ।
उहाँले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिका, यसलाई थप सवल बनाउँदै लैजानुपर्ने आवश्यकता र यसमा नेपालको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दैआएको भूमिका बारे उल्लेख गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो व्यक्त गर्नुभयो ।
शान्ति सेनामा महिला सहभागिता र नेपाली शान्ति सेनाहरूले राष्ट्र संघको मुख्यालय र शान्ति मिसनहरूमा समेत नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गरेको उल्लेख गर्दै उहाँले नेपालले आफ्नै विशेषताका आधारमा शान्तिप्रकृया टुंग्याएको, नेपालको शासन प्रणालीमा आम नेपालीहरूको सहभागिता एवं समावेशिता सुनिश्चित गरेको र अब आर्थिक रूपान्तरणको अभियानमा जुटेको र यसमा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको कुरा उल्लेख गर्नुभयो ।
महासचिव एंटोनियो गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभो र आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्