सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् ।
तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरूको विश्वास जित्ने भरपूर प्रयास गरेको छ । सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ ।
सहभागी प्रतिनिधिले शुक्रबार सम्मेलनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । केही उद्योगीले लगानीको घोषणासमेत गरिसकेका छन् । यसबाट सरकार उत्साही देखिएको छ । लगानीकर्ताको प्रतिबद्धता भने शनिबार मात्रै टुंगो लाग्नेछ । कृष्ण रिजालको रिपोर्ट :
लगानीकर्तालाई सुरक्षा, नाफा र लाभांश फिर्ताको ग्यारेन्टी दिन्छौँ
प्रधानमन्त्री केपी ओली
लामो समयको राजनीतिक संक्रमण अन्त्य भएर स्थायित्व आएको छ । राजनीतिक उपलब्धि संस्थागत भइसकेका छन् । राजनीतिक रूपान्तरण मात्रै पर्याप्त हुँदैन, आर्थिक रूपान्तरण पनि चाहिन्छ । अबको मुख्य एजेन्डा भनेको आर्थिक रूपान्तरण नै हो । यसका लागि हामीले यस वर्ष व्यापक कानुनी र प्रक्रियागत सुधार गरेका छौँ । विदेशी लगानीका लागि अनुकूल वातावरण बनेको छ । हामीलाई दोहोरो आर्थिक वृद्धिको खाँचो छ ।
यसका लागि ठूलो पुँजी चाहिन्छ । स्वदेशी पुँजी मात्रै पर्याप्त हुँदैन । यहाँ आउनुस् र ठूलो लगानी गर्नुहोस् । लगानीको सुरक्षा, नाफा र फिर्ता लैजान सक्ने अवस्थाको ग्यारेन्टी दिन्छौँ । सबै विदेशी लगानीलाई स्वदेशीसरह व्यवहार गर्छौँ । नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो । सबै क्षेत्र र ठाउँमा लगानी गर्न सकिन्छ । नेपालमा लगानी गरेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा साझेदारी गर्नुहोस् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्