काठमाडौँ, १६ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत दक्षिण एसियोको विकासको मूख्य आधार तथा मेरुदण्ड भएको बताउनुभएको छ ।
काठमाडौँमा जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्र नै देशको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सरकारले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
आगामी पाँच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युत पुग्ने भन्दै मन्त्री पुनले मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने भएको बताउनुभयो । उहाँले अबको केही वर्षमा नेपालको विद्युत उत्पादन बढ्दै जाने भएकाले वाहृय बजारको खोजि भइरहेको बताउनुभयो । आन्तरिक माग पूर्ति भएपछि विद्युत निर्यात गर्नेगरी छिमेकीसहित अन्य मुलकमा पनि नेपालले छलफल अघि बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यसले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न मद्दत गर्छ ।’
नेपाली जनताको लगानीमा केही आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले जनताको जलविद्युत् कार्यक्रम सुरु गरिसकेको जानकारी दिँदै मन्त्री पुनले प्रशारण गुरुयोजना तथा ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्ता आयोजना अगाडि बढाइएको र क्षेत्रीय बजारसम्म पुग्नका लागि दिपक्षीय तथा बहुपक्षीय संयन्त्रमार्फत काम भइरहेको पनि बताउनुभयो ।
मन्त्री पुनले सरकारले एकीकृत जलस्रोत नीतिमार्फत जलस्रोतको बहुउपयोगमा जोड दिएको, सम्भाव्य परियोजनालाई सार्थक सहयोग उपलब्ध गराएको तथा नदी बेसिनको अध्ययनसमेत अगाडि बढाएको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड्ले सरकारले आगामी तीन वर्षमा तीन हजार मोगावट, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएकाले त्यसलाई व्यवस्थापन गर्न आफूहरू लागिपरेको बताउनुभयो ।
उहाँले वित्तीय लगानीको जोखिम कम गर्न सरकारले ‘हेजिड्ं फण्ड’ सम्बन्धी व्यवस्था गरिसकेकाले वैदेशिक लगानीकर्तालाई समेत सहजरूपमा लगानी गर्ने वातावरण बनेको बताउनुभयो । प्राधिकरणले नदी प्रवाहमा आधारित आयोजनाभन्दा जलाशययुक्त र अर्धजलायशयुक्त आयोजनालाई प्राथमिकतामा राखी विद्युत् खरीद सम्झौताको नयाँ मूल्यसूचीसमेत सार्वजनिक गरिसकेको कार्यकारी निर्देशक घिसिडले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्