काठमाडौँ, १६ चैत । भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ-केरुङ र काठमाडौँ-रक्सौल रेलमार्गको डीपीआर एक वर्षभित्र पूरा गर्ने बताउनुभएको छ ।
लगानी सम्मलेनमा पूर्वाधार सत्रलाई सम्बोधन गर्दै मन्त्री महासेठले पूर्व सम्भाव्यता अध्ययन भैसकेको जानकारी दिंदै रेल यातायात सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
काठमाडौँ-केरुङ रेलमार्गको प्रारम्भिक लगानी ३ खर्ब लाग्ने अनुमान गरिएको जानकारी गराउनुभयो । उहाँले यसको लागि छिमेकी देशसँग सहकार्य गर्ने बताउनुभयो ।
आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भयो । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताउनुभयो ।
मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उहाँले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताउनुभयो ।
छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास शुरु गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले भौतिक पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्