Banner News

मदन भण्डारी नेपाली समाजको वास्तविक हिरो : प्रम ओली



मोरङ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताउनुभयो । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।