समाचार

प्रहरीको पहलमा हावाहुरी पीडितका लागि रक्तदान



काठमाडौँ, २० चैत । आइतबार राती बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट घाइतेहरुका लागि मंगलबार नयाँबानेश्वर चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९ जना प्रहरीसहित ७३ जनाले रक्तदान गरेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सुर्यखबर डट कमको पहल तथा सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर, एभरेस्ट मिशन डट कम, होस्टेल एशोसियसन काठमाडौं र समुदाय प्रहरी मेरीगोल्ड टोल समितिको सहकार्यमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान महासचिव रामशरण देउजाबाट रक्तदान गरि शुरुवात गरिएको रक्तदान कार्यक्रममा मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीका साथै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रनानि पुष्पराज थापा, प्रसनिहरु दिनेश देवकोटा, रमेश कार्की र शेष थापा तथा प्रहरी जवानहरु कल्पना खड्का , तारादेवी मगर, प्रदिप पाण्डे, दिपक विष्ट र जगत पाण्डेले पनि रक्तदान गरेका थिए । होस्टेल व्यवसायी संघ काठमाडौंकी अध्यक्ष लगायत होस्टेल सञ्चालक, समाजसेवी तथा टोल समितिका पदाधिकारीहरुले पनि रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमअघि महमनगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्ले, प्रहरी निरीक्षक अमर थापा क्षेत्री, रक्तदान कार्यक्रमका संयोजक सुर्यखबर डट कमका अध्यक्ष बाबुराम आचार्यले हावाहुरी पीडितका लागि आयोजना गरिएको रक्तदानले घाइतेहरुको उपचारमा केही भएपनि राहत पुग्ने बताए ।