समाचार

देशभरिकै मौसममा बदली : हावाहुरी र चट्याङसहित पानी पर्ने



काठमाडौँ, २३ चैत । काठमाडौँसहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ । उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । मौसम विभागका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना छैन ।