राजनीति

सगरमाथा आरोही पाण्डेद्वारा स्विडेनका राजालाई ‘मेसेन्जर अफ पिस’ झण्डा हस्तान्तरण



काठमाडौँ, ३० चैत । २०७५ को बसन्त ऋृतुमा सगरमाथाको सफल आरोहण गरेका स्काउटर प्रकाशराज पाण्डेले सगरमाथामा आफुसंग लगेको विश्व स्काउट संगठनको ‘मेसेन्जर अफ पिस’ झण्डा स्विडेनका राजा कार्ल गुस्ताफ १६ औं लाई हस्तान्तरण गरेका छन् ।

राजा कार्ल विश्व स्काउट फाउण्डेशनका मानार्थ अध्यक्ष हुन । झण्डा हस्तान्तरण समारोहमा विश्व स्काउट फाउण्डेशनका अध्यक्ष लार्स कोलिण्ड समेतको उपस्थिति थियो ।

गत ४ देखि ९ अप्रिलसम्म दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित विश्व स्काउट फाउण्डेशनका लगानीकर्ताहरुको विश्व सम्मेलन तथा ७२ औं बेडेन पावेल फेलोसिपमा आयोजित सम्मेलनमा स्काउटर पाण्डेले सो झण्डा स्विडेनका राजालाई हस्तान्तरण गरेका थिए ।

विश्वभरीका २५० भन्दा बढी स्काउटका लगानीकर्ताहरुको सहभागिता रहेको उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पुर्व महासचिव बान कि मुन, कोरिया स्काउट संगठनका प्रमुख डा.हाम जोन हांग लगायतले सम्मेलनमा बोलेका थिए ।

झण्डा हस्तान्तरण अघि स्काउटर पाण्डेले सम्मलेनमा आफुले सगरमाथा आरोहण गर्दा झेल्नुपरेका समस्या र सगरमाथा आरोहणका क्रममा हुने गरेका प्राकृतिक र मानवीय दुर्घटनाका बारेमा वृत्तचित्र प्रस्तुत गरेका थिए । सम्मेलनमा भाग लिएर पाण्डे बिहीबार नेपाल फर्केका छन ।

यसैवर्षको जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका स्काउटर पाण्डेले सन् २०१६ र २०१७ मा गरि दुईपटक रसुवास्थित ५ हजार ८९० मिटर अग्लो वेडेन पावेल हिमाल तथा सन २०१८ मै आमादब्लम हिमालको सफल आरोहण गरेका थिए ।