भक्तपुर, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको प्रख्यात विस्का जात्रालाई आर्थिक सहयोग गर्नुभएको छ ।
हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पत्ति भन्ने पहिचानलाई आत्मसात् गर्दै आइतवार उहाँले उक्त जात्राको अवसमा रु एक लाख सहयोग गर्नुभएको हो । उहाँले नयाँ बर्षको शुभकामना सहित मध्यपुर थिमीको बिस्का जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न वोडेको रथ पुजा समितिलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
उहाँले सहयोग हस्तान्तरण गर्दै भक्तपुर कला, संस्कृति, परम्परा लगायतको राजधानीकै रुपमा रहेको बताउँदै कला संस्कृतिलाई उद्योग र उद्योगलाई रोजगारीको रुपमा परिणत गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर प्राकृतिक रुपमा सुन्दर र मनोरम भएकाले पर्यटकिय विकास गर्दै आर्थिक तथा रोजगारीको अवसरको प्रचुर सम्भावना भएको जिल्ला भएको बताउनुभयो ।
उहाँले भक्तपुरमा भएका प्रचुरमात्राका सम्भावनालाई अवसरको रुपमा परिणत गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा २०७५ साल इतिहासकै सवैभन्दा वढी विकास भएको बर्ष बताउँदै राजनीतिमा प्रतिस्पर्धा, विकासमा एकता नै अहिलेको अपरिहार्यता रहेको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु आधुनिक वीर अस्पताल, रंगशाला, प्राणी उद्यान, स्मार्ट सिटी, सभागृह लगायतका ठूला ठूला आयोजनाहरुको निर्माण प्रकृया अघि बढेका जानकारी गराउँदै सफलतापूर्वक सम्पन्न गराउन सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्