सुर्खेत, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरीको पानी बबईमा झार्ने १२ किलोमिटर लामो सुरूङको आज ब्रेक थ्रु गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ ।
बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ निर्माणको काम सकिएपछि प्रधानमन्त्री ओलीले आज ब्रेक थ्रु गर्नुभएको हो । सो सुरुङ नेपालमै पहिलोपटक मेसिनबाट खनिएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको हो । सोपरियोजनाको २०७४ कात्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टिबिएम)ले सुरूङ खन्न थालिएको थियो। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले टिबिएमबाट सुरूङ खनेर सम्झौता भन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको हो ।
सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरूङ खन्ने अवधि २०७६ चैत १५ सम्म रहेको थियो । तर चिनिया ठेकेदार कम्पनीले तोकिएको समय भन्दा एक बर्ष अगावै काम सम्पन्न गरेको हो ।
भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्