सुर्खेत, ४ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालको बाढीबाट विस्थापित सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेकथ्रु’ गर्दै प्रधानमन्त्री ओलीले विस्थापितहरुलाई पुनःस्थापना गर्ने कार्यका लागि प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उहाँले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ (टिबिएम) बटन थिचेर ‘ब्रेकथ्रु’ गर्नुभएको थियो ।
प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उहाँको भनाइ थियो । ‘दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पु¥याउँछौँ, चीन सरकारसँग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब नेपालमा गरीबी रहन दिँदैनौँ, पछ्यौटेपन रहन दिँदैनौँ, कोही पनि जनता भोकले मर्दैनन ।’
प्रधानमन्त्री ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य रहेको प्रष्ट पार्नुभएको छ । रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजनामार्फत उत्पादकत्व बढाउने प्रष्ट पार्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रदेश नं ५ र कर्णाली प्रदेशका लागि यो आयोजना सद्भाव र समझदारीको नमूना हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अन्तर प्रदेश र स्थानीय तहबीच पारस्परिक सहयोग जरुरी छ ।’ उहाँले नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशीलताका कारण तोकिएको समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्