राजनीति

प्राज्ञिक तथा प्रेस स्वतन्त्रतामा हमला गरे पार्टीले चुप लागेर बस्दैन : सभापति देउवा



धनगढी, ४ वैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता तथा सुदूरपश्चिम विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामा हमला गरे पार्टीले चुप लागेर नवस्ने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीले निर्माण गरेको वीपी स्मृति भवनको उद्घाटन गर्न टीकापुर पुगेका देउवाले सरकारले उपकूलपति र रजिष्टारलाई हटाएको, नयाँ नियुक्तिमा ढिलाइ गरेकोले विश्वविद्यालयका कामहरु प्रभावित हुनुका साथै समायोजन भएका १४ वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले ९ महिनादेखि तलवभत्ता नपाएपछि सभापति देउवा सरकारप्रति आक्रोशित व्यक्त गर्नुभएको हो ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता हुने भनि स्पष्ट रुपमा उल्लेख गरेको तर पछिल्लो समय नेकपाको सरकारले निरंकुशताको व्यवहार देखाएको बताउनुभयो । उहाँले समाचार लेखेकै भरमा देशका धेरै ठाउँहरुमा पत्रकारलाई विद्युतिय ऐन अनुसार कारवाही चलाएकामा कडा आपत्ती जनाउनुभयो । उहाँले प्रेसलाई कब्जामा लिएर भ्रष्टाचार तथा अनियमितताको जालो बुन्नको लागि सरकारले घुमाउरो तरिकामा प्रेसमाथि अंकुश लगाएको बताउनुभयो ।

आफू प्रधानमन्त्री भएको बेला सुदूरपश्चिमको धेरै विकास गरेको र फेरि प्रधानमन्त्री भए कर्णाली, महाकाली र पश्चिम सेती जलविद्युतको विकास गरी सबैभन्दा धनी प्रदेश बनाउने बताउनुभयो ।