काठमाडौँ, ४ वैशाख । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दो छ भने वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स (विप्रेषण) आप्रवाह भने बढेको छ ।
राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५।४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४।६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८ प्रतिशतभन्दा बढीले बढेको रेमिट्यान्स चैत महिनामा पनि २३.४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म विभिन्न देशहरुबाट ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
यसैगरी चैत मसान्तसम्म खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०।७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्