Banner News

प्रेस स्वतन्त्रता हनन् गर्नु सरकारको अधिनायकवादी शासन : सभापति देउवा



धनगडी, ५ वैशाख । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता हनन गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै देउवाले पत्रकार सरकारको शत्रु नभइ सहयोगी भएको भन्दै उहाँले सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको बताउनुभयो ।

पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक क्रियाकलाप भएको बताउनुभएको हो । उहाँले पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप सरकारले गरिरहेकाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको बताउनुभयो ।

पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भए पनि प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उहाँले बताउनुभयो । देशको विकास नचाहने भ्रष्ट कम्युनिष्ट नेताहरु भएकाले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकारले काम गरिरहेको उहाँको आरोप थियो । सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्नुभन्दा अब सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको सभापति देउवाले बताउनुभयो ।

दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्क बढेको देउवाले धारणा राख्नुभयो ।