अर्थ

प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने



काठमाडौँ, ५  वैशाख । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले सहुलियत रुपमा कर्जा उपलब्ध गराएको  हो ।

व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ । त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको छ । त्यसका लागि कम्तीमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ ।

बैंकले १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको बताएका छन ।