मकवानपुर, ८ वैशाख । मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् ।
उनीहरुबाट प्रहरीले ५७ किलो गाँजा र ६० ट्याबलेट नाइट्रोभेट बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा पप्पुलाई आठ केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसहितको टोलीले रातोमाटेमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७३९ नम्बरको यात्रुवाहक माइक्रो बसलाई जाँच गर्ने क्रममा रुपकलाई लागुऔषध नाइट्रोभेट ६० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्