काठमाडौँ, १० वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनु भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले वैशाख ११ गतेदेखि सुरु हुने राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको बताउँदै उहाँले भन्नुभयो, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध थप नयाँ उचाइमा पुग्छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्घाटन सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सी जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’
मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्ने पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’
उहाँले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने पनि जनाउनुभयो । नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाउनुभयो । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचीन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जानकारी गराउनुभयो ।
मन्त्री ज्ञावलीले आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको जानकारी गराउनुभयो । उहाँले त्यस ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्