Banner News

काङ्ग्रेसमा गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट : सभापति देउवा



झापा, १० वैशाख । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा गुट–उपगुट छ भनेर गलत हल्ला फैलाइएको र त्यो सरासर झुट मात्र भएको बताउनुभएको छ ।

झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको बताउनुभयो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा कांग्रेस जहिले पनि जनताको साथमा हुने बताउनुभयो ।

काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको जिकिर गरेका छन् । संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको दावी रहेको थियो ।

उहाँले वर्तमान केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप समेत लगाउनुभयो । उहाँले वर्तमान सरकारले हत्या, हिंसा, भ्रष्टाचार, वेतिथी, प्रेसमाथि अंकुश लगायतका कार्यहरु गरी मानिसको स्वतन्त्रता समेत हनन् गरिरहेको बताउनुभयो ।