राजनीति

रोजगार कार्यक्रम : तीन तहका सरकारबीच समझदारी हुने



काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तीनै तहका सरकारबीच त्रिपक्षीय समझदारी (एमओयू) हुने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा ल्याइएको सो कार्यक्रम सञ्चालनमा तीनै सरकारको पारस्पारिक सहयोग, सहकार्य र समन्वय कायम गर्न त्रिपक्षीय समझदारी गर्न लागिएको हो ।

श्रम मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित प्रदेशका स्थानीय तहबीच प्रदेशगत रुपमा समझदारी गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । समझदारीपत्रमा श्रम मन्त्रालयका उच्चअधिकारी, प्रदेशको सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुख÷अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

यही वैशाख २० गते प्रदेश नं १ को विराटनगर र गण्डकी प्रदेशको पोखरा, २१ गते प्रदेश नं २ को जनकपुर, २२ गते प्रदेश नं ३ को काठमाडौँ, २३ गते प्रदेश नं ५ को बुटवल, २४ गते कर्णाली प्रदेशको सुर्खेत र २५ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा त्रिपक्षीय समझदारी समझदारीका लागि मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेको छ ।

कार्यक्रमअन्तर्गत सार्वजनिक विकास निर्माणका क्षेत्रलगायत निजी, सरकारी तथा गैरसरकारी क्षेत्रसँग मन्वय र सहकार्य गरी ती क्षेत्रमा बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य छ । यसैबीच मन्त्रालयले बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद थप गरेको छ ।

न्यूनतम् रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले यही वैशाख मसान्तसम्म आफू बसोबास गर्दै आएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । यसअघि बेरोजगार व्यक्तिले गत चैत मसान्तसम्म निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।