भक्तपुर, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिको भकारी भर्दै देशलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १०औं वार्षिकोत्सवको क्रममा बोल्दै सांसद बस्नेतले गल्ती र कमजोरी विनाको मानिस खोजेर नपाइने बताउँदै गल्ती र कमजोरीलाई सुधार्दै अघि बढ्ने मानिस नै महामानव हुने बताउनुभयो । नेतृत्व पंति तथा अन्य सरोकार निकायका संघ संस्थाले गुणात्मक रुपमा क्षमता विकास गर्दै अघि बढ्नुपर्ने बताउँदै उहाँले घमण्ड, दम्भ तथा कमजोरी गरे जनताले अर्कोपटक विदा गर्ने समेत बताउनुभयो ।
गल्ती र कमजोरी भए आन्तरिक रुपमा छलफल गरी समाधान गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘समाज परिवर्तन गर्न सर्वप्रथम आफु परिवर्तन हुन जरुरी छ, त्यसपछि आफ्नो परिवार परिवर्तन गराउनु पर्छ अनि मात्र समाज परिवर्तन गराउन सकिन्छ । हामी कुरामा कालो दल्न सवै सिपालु छौं तर त्यसलाई सच्याउन सिपालु छैंनौं । कालो दल्ने प्रकारको मनको फोहोरलाई अन्त्य गर्नुपर्छ ।’
पछिल्लो समय मानिसमा आफ्नो काम नजान्ने तर अरुको सवै काम जान्ने प्रवृत्ति भएकाले त्यसलाई सुधार सर्वप्रथम आफैले नकारात्मक सोच र विचारलाई त्यागी समय सापेक्ष रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नु भन्दा पनि आफ्नो कान छामी कागको पछि लाग्नु जरुरी हुन्छ । सत्य, तथ्य र वास्तविकतामा अडिक र अटल रही देश र जनताको पक्षमा पनरन्तर अघि बढिरहनुपर्छ ।’
अस्पताल प्रति विरामीको आकर्षण बढ्दै गएको र त्यसलाई अझ वढी व्यापक सुविधा सम्पन्न बनाउनु पर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, ‘लेलिन र स्टालिनको पालामा लेलिनको सेख पछि स्टालिन रसिया कम्युनिष्ट पार्टीको महासचिव हुनुभएको थियो । एक दिन कार्यकर्ता प्रशिक्षण कार्यक्रममा स्टालिनले लेलिनको बारेमा नकारात्मक विश्लेषण गर्नुभएछ । त्यस पछि कार्यकर्ताले लेलिनसँगै काम गर्दा केही विश्लेषण नगर्ने अनि अहिले चाँही यस्तो नकरात्मक कुरा भन्न मिल्छ ? भनि लिखित प्रश्न गरेका थिए । त्यसपछि उत्तरका क्रममा यो प्रश्न कस्को भनि सोद्धो भन्दा कसैले पनि मेरो भनि जिम्मा लिएका थिएनन् । जसको कारण थियो की आफ्नो पद धरापमा पर्न सक्छ भनि । त्यसपछि उहाँले भन्नुभयो, मैले पनि वोलेको भए मेरो पद धरापमा पर्थो त्यसैले नवोलेको हो । त्यसैले कोरियन अस्पतालमा पनि लिखित प्रश्न गर्ने वातावरण नबनोस् ।’
अस्पतालको स्तरउन्नती गर्नुपर्ने बताउँदै उहाँले ५०० सैयाको अस्पतालको विकास गरि विरामीलाई सहज र सुलभ रुपमा उपचारको ज्ञारेन्टी गर्नुपर्ने बताउनुभयो । संघ, प्रदेश तथा नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गर्न तयार रहेको उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अस्पताल आफै सक्षम भए सहयोगको आवश्यक परेन तर सक्षम छैन भने संघले कति रकम ल्याउन पर्छ भन्नुहोस् म व्यवस्था गर्छु । यसै क्षेत्रको संघिय प्रतिनिधि भएको हैसितले जस्तो सुकै सहयोग गर्न तयार छु ।’
आधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने बताउँदै सांसद बस्नेतले स्वास्थ्य विमाको सवालमा सरकारले दिएको सुविधा र लाभलाई उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालले काम गर्ने मानिसलाई सेवा सुविधा पनि थप गर्दै जानुपर्नेमा समेत जोड दिनुभयो । अस्पताल नाफामा गएको बताउँदै आगामी दिनमा त्यो नाफालाई जनमुखी बनाउँदै अस्पतालको भकारीलाई थप्दै जानुपर्नेमा उहाँको जोड थियो । उहाँले नाफालाई क्षणीक रुपमा हेरे मानोमा सिमित हुने बताउँदै कुनै व्यक्तिगत वा संस्थागत स्वार्थभन्दा माथि उठी अस्पताल आम भक्तपुरवासीको सेवामात्र सिमित नभई देशकै सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतले अस्पताले खेलेको र आगामीमा खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्