बारा, १६ वैशाख । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण कार्यमा कुनै पनि नीतिगत कुराले अवरोध नगर्ने स्पष्ट पार्नु भएको छ ।
सोमबार दिउँसो हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका–६ पुरनियाको स्थलगत निरीक्षण गर्दै रक्षामन्त्री पोखरेलले घर निर्माण सम्बन्धि सम्पूर्ण अधिकार नेपाली सेनालाई दिइ सकिएको जानकारी गराउनु भयो ।
उहाँले घर निर्माण कार्यको कहीँकतैबाट विरोध हुनुको कुनै अर्थ नभएको बताउँदै रक्षामन्त्री पोखरेलले ७ सय ५० जना नेपाली सेनाको टोली परिचालन गरी तीन महिना भित्रमा निर्माण कार्य सकिने योजनासहित सेनाले तयारी गरेको जानकारी दिनुभयो ।
उहाँले वर्षादको समय अघि नै वासकोे व्यवस्था गर्ने गरी सरकारले नेपाली सेनालाई घर निर्माण गर्न जिम्मा दिइसकेको बताउँदै सरकारले जनताको दुःखलाई आफ्नो दुःख सम्झेर जनताको सारथीको भूमिका रहने बताउनुभयो । उहाँले तीनै तहको सरकारको समन्वयमा पिडितलाई गास, वास, कपास, स्वाथ्स्थ लगायतको व्यवस्था गरिरहेको बताउनुभयो ।
उहाँले यही वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनीयर संलग्न हुने जानकारी दिनुभयो । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिनुभयो ।
उहाँले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बनाइने बताउनुभयो । यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिनुभएको थियो । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ।










प्रतिक्रिया दिनुहोस्