काठमाडौँ, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुहिरोमा हराएको कागको नियतिबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।
संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले विकास निर्माण भन्दा पनि शक्ति केन्द्रिकृत गर्ने गलत अभ्यासमा प्रधानमन्त्री लागेको आरोप उहाँले लगाउनुभयो । संविधानको मार्गदर्शन र आफूले गरेको प्रतिबद्धताअनुसार काम गरेर देखाउन सुझाव दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावनाविपरीत छ । राष्ट्रिय सुरक्षा परिषद्लाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रित गरेर, सबैखाले महत्वपूर्ण विकास निर्माणका कार्य स्थापित सरकारी निकायबाट खोसेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको मातहतमा ल्याएर, अधिकार त हातमा आयो भन्ने लाग्ला । तर परिणाममा यो प्रत्युत्पादक हुनेछ ।’
उहाँले गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गर्नुको सट्टा संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउनेतर्फ सरकारको क्रियाकलाप केन्द्रित भए त्यसको पार्टीले शसक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो । विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनि झुट प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी नेता देउवाले गर्नुभयो ।
विदेशी अनुदानको स्थिति निराशाजनक, वैदेशिक व्यापारघाटा र मूल्यवृद्धिले सिंगो देशकै अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताउनुभयो बारा, पर्सा, रौतहट, धनुषालगायत जिल्लामा हावाहुरीको प्रकोपबाट प्रभावितलाई राहत र पुनःस्थापनाको काम प्रभावकारी ढंगले हुन नसकेको भन्दै उहाँले तत्काल राहत र पुनःथापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्