समाचार

१३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै



काठमाडौँ, १८ वैशाख । आज मे १ अर्थात १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइन्छ ।

सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

देशभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाउने भएका छन् ।

श्रमिक दिवसका दिन उपत्यकाका विभिन्न स्थानबाट श्रमिकको जुलुस निकाल्ने तयारी गरिएको छ । विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।