राजनीति

विश्व परिवर्तनको आन्दोलनमा मजदुरको भूमिका अतुलनीय : राष्ट्रपति भण्डारी



काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व परिवर्तनको आन्दोलनमा मजदुरको भूमिका अतुलनिय रहेको बताउनुभएको छ ।

१३०औं विश्व मजदुर दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित हुन सकून् भनी कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “यस दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको छु । सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवादउन्मुख अर्थ व्यवस्थाको आधारस्तम्भ श्रमिक मजदुर भएको प्रसङ्गमा सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ ।”

नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने उहाँको सन्देशमा उल्लेख छ ।