काठमाडौँ, २१ बैशाख । नेपाल र ओमानबीच श्रम सम्झौता भएको छ । सम्झैतासँगै अब नेपालीले ओमनको रोजगारीमा जाँदा कुनै शुल्क तिर्वुपर्ने छैन ।
बिहीबार र शुक्रबारको निरन्तर छलफलपछि शून्य लागतमा नेपाली कामदार ओमान जान पाउने गरी सम्झौताका बुँदामाथि सहमति जुटेको मन्त्रालयले जानकारी दिएको छ । सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिकको प्रत्याभूत हुने गरी नेपाली श्रमिकहरू ओमान रोजगारीमा पठाउने गरी श्रम समझदारीका बुँदा तय गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले ओमानसँग पनि मलेसियाकै मोडलमा सम्झौता गर्ने गरी मस्यौदा तय गरेको जनाएको छ । श्रम सम्झौता एमओयुका बुँदामा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मुख्य एजेन्डाहरू समेटिएको जनाइएको छ ।
तय भएका मस्यौदा भने सार्वजनिक गरिएको छैन । मस्यौदा तय गरिएपनि सम्झौता पत्र एमओयुमा हस्ताक्षर मिति भने छलफल पछि मात्रै तय गरिने उल्लेख गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्