Banner News

मान्छे नमरोस्, घाइतेले उचार र पीडितले राहत पाओस् : प्रधानमन्त्री ओली



काठमाडौँ, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा आम नेपाली नागरिक कुनै पनि प्राकृतिक समस्याका कारण मृत्यु हुनु नहुने भन्दै विपदबाट घाइतेले उपचार तथा पीडितले राहत तत्काल पाउने गरी तयारीमा बस्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण परिषद्को आज सिंहदरबारमा सम्पन्न बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आसन्न बर्खायाममा हुन सक्ने जोखिमलाई ध्यान दिँदै विपद्बाट उत्पन्न हुने परिस्थितिमा विभिन्न तहका सरकारले गर्नुपर्ने कामको अधिकारसम्बन्धी र राहतमा हुने दोहोरोपना हटाउनका लागि बेग्लै छाता ऐन ल्याउन गृह मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विपद्को जोखिम न्यूनीकरणका लागि एकीकृत बस्ती र आवासका लागि संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएकाले यसको तयारीमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश नं ३ र कतिपय स्थानमा एकीकृत बस्ती बसाउन जमीन नपाउने समस्या भएको र चुरेका बीचमा जङ्गल फाँडेर बस्ने समस्या देखिएको जनाउँदै पृथ्वी र मानिसलाई बचाउने तौरतरिका अपनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भरसक हामीले प्राकृतिक विपत्ति आउँदा असर नपर्ने संरचना बनाउनुपर्छ । विपत्ति आइलागेमा तत्काल उद्धारका लागि स्थानीय समुदाय, तह र सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ । मान्छे नमरोस्, घाइते नहोस् र घाइतेले उचार र पीडितले राहत पाओस् भन्नेमा हाम्रो मुख्य ध्यान हुनुपर्छ ।”

प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनका क्रममा काठमाडौँका अतिरिक्त इटहरी, पोखरा र सुर्खेतमा आपत्कालीन उद्धार गर्न होलिकोप्टर तयारी अवस्थामा राख्ने परिषद्को पहिलो बैठकले निर्णय गरिसकेको स्मरण गराउनुभयो ।

पर्सा र बाराका ट्रोनाडो प्रभावितलाई आफूले तत्काल भेटेर फर्केपछि जनतालाई छिटो छानोमुनि ल्याउन नेपाली सेनालाई पुनः निर्माणको जिम्मा दिइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले स्थलगत निरीक्षणमा जाँदा तत्काल प्रचार हुने कुरा गरिन । समस्या देखेँ, आएर सरसल्लाह गर्दा सेनाले छिटो र अनुशासित रुपमा घर निर्माण गर्न सक्ने भएकाले उसलाई जिम्मा दिने निर्णयमा पुगिएको हो । प्रभावितका समस्यालाई लटरपटर गर्ने हिसाबले होइन, छानामुनि ल्याइहाल्ने योजनाअनुसार उक्त जिम्मेवारी दिइएको हो । विपद्का बेला हामीले भरपर्ने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नै हो ।”

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सम्बन्धित मन्त्री र प्रदेशका मुख्यमन्त्रीको उपस्थिति थियो ।