भक्तपुर, २५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डोलिडारसँग सहकार्य गरी यो वर्ष भक्तपुरमा आवश्यक रहेको सम्पूर्ण सडकहरुको मास्टर प्लान बनाउने तयारी भइरहेको बताउनु भएको छ ।
आज सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डू पिपलडाँडा बसपार्क सडक विस्तार शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकाको रुपमा विकास निर्माणका कार्यहरु भइरहेको बताउँदै बालकुमारी–बालकोट–चित्रपुर हुँदै गाम्चा–सिकारी टोल–तर्खाल अनन्तलिङ्गेश्वर हुँदै रानीकोटसम्म जोड्ने मुल सडकको रुपमा डोलिडारसँग प्रस्ताव भए अनुसार डिपिआर सम्पन्न भई टेण्डरको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
सांसद बस्नेतले उक्त समयमा छुट्याइएको बालकोटको सडक निर्माणमा विवादका कारण यो वर्षमात्र काम शुरु भएको बताउनुभयो । भक्तपुरको विकास र समृद्धिको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निकायले बजेटको व्यवस्थापन जुन सुकै माध्यमबाट भए पनि गर्नुपर्ने बताउँदै स्रोत कहाँबाट आएको भन्ने सरोकारको विषय नभएको बताउनुभएको छ ।
भक्तपुरमा रहेको अरनीको राजमार्गलाई सूर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक विस्तार गर्न जापान सरकारभन्दा नेपालले नै गरे कम मूल्यमा गर्न सकिने मन्त्रालयको भनाईलाई आत्मसात गर्दै उहाँले भन्नुभयो, ‘विरालो कालो होस् वा सेतो होस्, हामीलाई मत्लब छैन, मुसा मार्योकी मारेन भन्नेमात्र मत्लव हुन्छ । जहाँबाट गरे पनि आगामी आवमा सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनको बन्नुपर्छ ।’ उहाँले मन्त्रालयले आगामी आवमा उक्त सडक ६ लेनको बनाउने गरी काम अघि बढाएको जानकारी गराउनुभयो ।
सांसद बस्नेतले विगतका सांसदले विकास निर्माणलाई ध्यान नदिएको भन्ने जनताको गुनासो आएको बताउँदै उहाँले भन्नुभयो, ‘विगतका सांसदले आफ्नै घर अघि त घर बनाएन अरुतिर कहाँ बनाउँछ भन्ने जनताको आवाज सुनिने गरेको तर मेरो पालामा सवैलाई समान रुपले विकासलाई तिव्रता दिएको छु । जनताको गुनासो क्रमिक रुपमा अन्त्य गर्दै लगेको छु ।’
विगतमा आफु मन्त्री भएको समयमा पाण्डुबजारदेखि गुण्डूसम्म आउने सडकमा ४ करोड र गुण्डूचोकदेखी बरपार्कसम्म जाने सडकमा ४ करोड गरी जम्मा ८ करोड बजेट छुट्याई गुण्डुमा सडक सञ्जालमा तिव्रता दिलाएको जानकारी गराउनुभयो । भक्तपुरमा सडक विस्तार तथा निर्माणको लागि यो आर्थिक वर्षमा मात्र करिव ४ अर्व रुपैंया ल्याउन सफल भएको जसमा गुण्डूमा १० करोड मात्र भएको र बाँकी अन्य क्षेत्रमा विकास गरिएकाले गुण्डूमा मात्र विकास गर्यो भन्ने शब्द निकाल्नेको आवाज बन्द भएको सांसद बस्नेतले बताउनुभयो ।
पाण्डुबजारदेखि गुण्डूबस पार्कसम्मको सडकलाई संघिय सरकारको तर्फबाट पाँच करोड पार्न सफल भएको जसको निर्माण कार्य आगामी कार्तिक मसान्त भित्रमा सम्पन्न गराउने लक्ष्य रहेको जानकारी गराउँदै सांसद बस्नेतले आगामी आवमा पाण्डुबजारदेखि गुण्डूबस पार्कसम्मको कालोपत्रे गर्ने काम सम्पन्न गराउने र त्यसपछि गुण्डूको लाइफलाईनको रुपमा उक्त सडक हुने बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा निर्माण गर्न लागिएका राष्ट्रिय गौरवका आयोजनामा स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, सभागृह, आधुनीक वीर अस्पताल, रंगशाला लगायतले भक्तपुरको मुहार फेरिने मात्र नभई देशको सवैभन्दा विकशीत जिल्लाको रुपमा परिचित हुने बताउनुभयो ।
यो वर्ष ११ वटा साना र ६ वटा ठूला पुलहरुको निर्माण गरेको बताउँदै उहाँले मनोहरा नदीको करिडोरमा चार लेनको सडक बनाउने तथा कोटेश्वरमा अण्डरपासको लागि प्रकृया समेत अघि बढेको, मनोहरामा बेलिव्रिजको निर्माण कार्य शुरु भएको साथै हनुमन्ते नदीको करिडोर निर्माण कार्य तिव्र गतिका साथ अघि बढेकाले आगामी तीन वर्षभित्रमा कोटेश्वर – जडिबुटीमा हुने सवारी जामलाई स्थायी रुपमा समाधान गर्ने समेत बताउनुभयो ।
भक्तपुरलाई डोलिडारले सम्पूर्ण पुल बनाएको जिल्लाको रुपमा स्थापीत गर्ने योजना मात्र नभई भक्तपुरमा आवश्यक सवै पुलहरु बनिसके भनि आगामी वर्षमा घोषणा गर्ने योजना रहेको बताउँदै सांसद बस्नेतले आगामी वर्ष करिव १०/१२ वटा पुल बनाउन सफल भए भक्तपुरमा पुल बनिसकेको घोषणा गर्न सकिने
भक्तपुरमा खेर गएका जग्गालाई आवश्यकता अनुसार सदुपयोग गर्ने बताउँदै उहाँले खेर गएका जग्गामा खेल मैदान, सामुदायीक भवन, फुटसल, चौतारो, मन्दिर, पार्क लगायतका बनाउने कार्य तिव्र गतिका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले हात्ती गैंडामा गुँरास पार्क बनाउन पाँच करोडको प्रस्ताव सहरी विकास मन्त्रालयमा गरिएको साथै अरनीको राजमार्ग तथा भक्तपुरका मुख्य सडकमा ग्रीनरी तथा उज्यालो सडक बनाउने समेत उद्घोष गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसीजंग थापाले विकासले भक्तपुरमा कोल्टे फेर्ने प्रकृयामा अघि बढेको बताउँदै सडकको साथमा ढल, सिँचाई, खानेपानी लगायतका कार्यहरु समेत तिव्र गतिका साथ काम अघि बढेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले आफुले नेतृत्व गरेको नगरपालिका हरेक हिसावले देशकै नमूना बनाउने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा संघिय सरकारको तर्फबाट ५ करोड रकममा २६ फिटको चौडाईमा आगामी कार्तिक मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्