सिन्धुपाल्चोक, २६ बैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको जानकारी दिनुभएको छ ।
मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको यही वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुवै मुलुकसँग जोडिएर विकास गर्नु बताउनुभयो ।
मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको यही वैशाख २६ गतेदेखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिए ।
बैठकमा नेपाल वायुसेवा निगमको जहाज खरीदसम्बन्धी उपसमितिका संयोजक दीपकप्रकाश भट्टले उपसमितिले तयार गरेको अध्ययन प्रतिवेदन समिति सभापति पवित्रा निरौलालाई बुझाइएको थियो ।
२०७५ मङ्सिर १९ गते गठित उक्त उपसमितिका सदस्यमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराती रहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्