राजनीति

कांग्रेसको जागरण कार्यक्रममै कुटाकुट, एक घाइते



सिन्धुपाल्चोक, २६ बैशाख । देशभर सुरु भएको कांग्रेस जागरण अभियान उद्घाटनका क्रममा कार्यकर्ताबीच झडप भएको छ ।

सिन्धुपाल्चोकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कार्यक्रमस्थलमै झडप भएको हो ।

उक्त झडपमा परी तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।

श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको थियो ।

सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ ।