राजनीति

सांसद बस्नेतको नेतृत्वमा सरकारी टोली अनुगमनमा : कप्जा गरिएको जग्गा फिर्ता आउने



भक्तपुर, २७  बैशाख । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएसँगै भक्तपुरमा पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएका जग्गाहरु पहिचान गरी पुनः सार्वजनिक बनाउने कार्य शुरु गरिएको छ । यो कार्य शुरु भएसँगै भु–माफियाको निद हराम हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका जग्गाहरुको स्थालगत निरिक्षण गरिएको छ ।

निरिक्षणका क्रममा विभिन्न भु–माफियाहरुले उक्त चार स्थानमा मात्र करिव १६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएको छ । जसमा हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको तथ्य सार्वजनिक भएको छ ।

हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वभुमिसुधार मन्त्री जगन्नाथ आचार्यको पालामा व्यक्तिको नाममा लगिएको प्रष्ट भएको हो । कांग्रेस नेताले आफु मन्त्री भएको समयमा आफ्नो श्रीमती विमली उपाध्यायको नाममा दर्ता गरिइएको तथ्य सार्वजनिक भएको हो । उपाध्यायको नामबाट हाल विभिन्न व्यक्तिको नाममा दर्ता गराई सकिएको छ ।

त्यस्तै २०२१ सालमा मनोहरा नदीको नाममा रहेको ५४ रोपनी जग्गा पनि अतिक्रमण गरी व्यक्तिको नाममा लगिएको पाइएको छ । उक्त जग्गा श्याम जंग सिजापती, राजेन्द्र कुमार सिजापती, सुवर्ण कुमार सिजापती, प्रेम जंग सिजापती, तेज नसिं द्वारे, पुरुषेत्तम प्रसाद पौडेल लगायतको नाममा दर्ता भएको पाईएको छ ।

त्यस्तै कमलपोखरीको १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भएको पाइएको छ । जसको जिल्ला अदालतले पुनः सरकारी जग्गा नै कायम गराएको छ । त्यस्तै निलवारहीमा १९ रोपनी १० आना सार्वजनिक जग्गा २०४२/०४३ सालमा कान्छा सुवालको नाममा दर्ता भएको पाइएको छ । पछि उक्त जग्गा सरकारले सार्वजनिक जग्गाकै रुपमा कायम गरे पनि अदालतले उक्त जग्गा पुनः व्यक्तिको नाममा नै दर्ता कायम गराउन आदेश दिएको थियो । तर स्थानीयवासी तथा जनप्रतिनिधिको अवरोधका कारण उक्त जग्गा हालसम्म सार्वजनिक नै कायम रहेका छ । तर अदालतको उक्त निर्णय पश्चात भु–माफियाबाट आफ्नो नाममा दर्ता गराएका व्यक्तिहरु आफ्नो नाममा दर्ता गराउनुपर्ने बताउँदै आएका छन् ।

अनुगमनका क्रममा सांसद बस्नेतले दुषित तरिकाबाट व्यक्तिको नाममा ल्याईएको सार्वजनिक जग्गाहरु व्यक्तिको नामबाट सार्वजनिक नै बनाउने काम शुरु भएको बताउनुभयो । उहाँले भु–माफियाका कारण सार्वजनिक जग्गा व्यक्तिमा ल्याइएका देशभरका सवै जग्गाहरु सरकारी बनाउने कार्य नेपाल सरकारले काम अघि बढाएको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले आज चार वटा ठाउँको निरिक्षण गरेको र बाँकी अन्य ठाउँको समेत निरिक्षण गर्ने र जिल्ला प्रशासन प्रमुखले प्रतिवदेन तयार गरी गृहमन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी गराउनुभयो । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक जग्गा पहिचान गराउन निर्देशन समेत दिई प्रतिवेद तत्काल उपलब्ध गराउन निर्देशन दिएको र सोही अनुसार भक्तपुरमा तिव्र रुपमा व्यक्तिको नाममा दर्ता गराएका सम्पूर्ण जग्गाहरुको पहिचान गर्न थालिएको बताउनुभयो ।

उहाँले व्यक्तिको नाममा लगिएका कुनै पनि सार्वजनिक जग्गा सरकारी बनाएरै छोड्ने बताउँदै भु–माफियाहरुलाई सरकारले कानुनी दायरामा ल्याई कारवाही गर्ने समेत बताउनुभयो । उहाँले सरकारले उच्च स्तरिय छानविन समिति समेत गठन गरी सकेको जानकारी गराउँदै उत्त समितिले आफ्नो काम गरिसकेपछि व्यक्तिका नाममा गएका देशभरका सवै सरकारी जग्गा पुनः सार्वजनिक नै हुने बताउनुभयो ।

निरिक्षणका क्रममा प्रजिअ नारायणप्रसाद भट्टले गृहमन्त्रालयको निर्देशन अनुसार सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएका सवै जग्गाहरु पुनः सार्वजनिक नै बनाउन आवश्यक सवै अस्त्र प्रयोग गर्ने बताउनुभयो । उहाँले कानुनभन्दा माथि कोही नरहेको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याइने समेत बताउनुभयो ।

सांसद बस्नेतको नेतृत्वमा भएको अनुगमनमा नेकपाका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठ, डिएपी मिलन केसी, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।

विस्तृत विवरण अर्को अंकमा प्रस्तुत गरिने छ ।