राजनीति

बिगतमा जनप्रतिनिधि आफ्नो क्षेत्रमा नफर्कदा विकासमा बादल, अहिले त्यस्तो दिन समाप्त : सांसद बस्नेत



भक्तपुर, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको साथ जनताकै विकास भएको बताउनुभएको छ ।

पलासे–रोतामाटे–काँक्रावारी सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्र्तगत प्रत्येक दिन एक कदम अघि जाने अभियान संचालन गरेकोमा भक्तपुरले भने एक कदममात्र नभई तीन चार कदम नै गरिरहेको बताउनुभयो । उहाँले तिव्र गतिमा विकासले भक्तपुरको मुहार नै परिवर्तन आएको र जनताले विकास र समृद्धिको अनुभुति गर्न शुरु भएको बताउनुभयो ।

उहाँले उक्त सडकलाई नगरपालिकाले एक करोड उपत्यका विकास प्राधिकरणबाट ८० लाख बजेट पार्न सफल भएको र आगामी वर्ष नगरपालिका तथा अन्य निकायदेखी ठूलो बजेट व्यवस्थापन गरी आगामी दशै सम्ममा उक्त सडक कालोपत्रे भइसक्ने समेत बताउनुभयो ।

उहाँले आफुले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पूर्ण कार्यान्वयनमात्र नभई त्यो भन्दा बढी जनताको चाहना अनुसार विकासका कामहरु अघि बढेको बताउँदै विगतमा निर्वाचित भएपछि जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा नफर्कने समस्याका कारण विकासको बादल लागेको तर वर्तमान समयमा त्यस्तो दिन समाप्त भएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायक नगरपालिकाको पलासेदेखि बाखागाउँ हुँदै डोलेश्वर जाने सडक बनाउने र पलासेदेखि काँक्रावारी जाने सडक बनाउने आफ्नो चुनावी प्रतिवद्धता नै भएको र त्यसले मूर्त रुप लिएको बताउँदै पलासेदेखि डोलेश्वर जाने सडक १३ करोडको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले विकास जनताको लागि नै भएकाले सरोकारवालाले विरोध गर्नु नहुने बताउँदै काम गरे पछि हुन्छ भन्ने भक्तपुरको विकासले मार्गनिर्देश गरेको बताउनुभयो । उहाँले भक्तपुरमा सडक, पुल, ढल, खानेपानी, भौतिक संरचना, शिक्षा, स्वास्थ्य, करिढोर लगायतका विकास निर्माणका कार्यहरु व्यापक मात्रामा भइरहेको बताउनुभयो । उहाँले स्मार्ट सिटी, आधुनीक वीर अस्पताल, आधुनिक सभागृह, रंगशाला, प्राणी उद्यान केन्द्र लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु समेत निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

काँक्राबारीमा मानविय आस्था नेपालको सहयोगमा इको भिलेजको रुपमा विकास गर्ने कार्य अघि बढेको बताउँदै सांसद बस्नेतले साँगादेखि अनन्तलिङ्गेश्वरसम्मलाई ग्रामीण पर्यटकको डेस्टिनेशनको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

भक्तपुरको आर्थिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, कला तथा संस्कृतिको विकास सँगै प्याराग्लाइडिङ, होम स्टे लगायतका संचालन गर्दै रोजगारीको वातावरण सिर्जना गर्ने कार्य समेत तिव्र रुपमा अघि बढेको बताउनुभयो ।

सूर्यविनायक धुलिखेलको ६ लेनको स्तरउन्नती आगामी आर्थिक वर्षमा हुने बताउँदै सांसद बस्नेतले कोटेश्वरमा अण्डरपास तथा मनोहरा करिडोरलाई ४ लेनको बनाउने प्रकृया शुरु भएको जानकारी गराउनुभयो । उक्त सडक तथा अण्डरपासको निर्माण सम्पन्न भएपश्चात कोटेश्वर जडिवुटीको सवारी जामको स्थायी रुपमा समाधान हुने बताउनुभयो ।