Banner News

समाजवादले नै वर्तमान समयमा विश्वको समस्या समाधान गर्छ : प्रम ओली



काठमाडौँ, २८ बैशाख । नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा आलीले समाजवादले नै विश्वको वर्तमान समस्याको वास्तविक तवरले समाधान गर्ने बताउनुभएको छ ।

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजवादले नै विश्वको वर्तमान समस्याको सही समाधान दिने र एक्काइसौँ शताब्दीको समाजवाद नयाँ आयाम अपनाउनुपर्ने बताउनुभयो । उहाँले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न सङ्घर्ष गरेको बताउनुभयो । यसै कारण दुई मुलुकका जनताबीच एकता तथा मित्रता बलियो भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीकोे उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताउँदै भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले माक्र्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गर्नुभयो ।

उहाँले मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त माक्र्सवादी दर्शनभित्रै प्रस्तुत गर्नुभएको र यसबाट परिवर्तित परिस्थितिमा दिशा दिनुभएको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले यसै विचारधारालाई अवलम्बन गरी बहुदलीय प्रतिस्पर्धाबाट संवैधानिक संरचनामा मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्त गर्न सकिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “आरम्भका दिनमा नेपाली राजनीति राष्ट्रवादी र मुलुकको एकीकरणका लागि सङ्घर्षका रूपमा शुरु भयो । त्यसपछि यो आन्दोलन बेलायती सम्राज्यवादको विरोध तथा सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको संरक्षणका लागि भयो र पछि यो समाजका विभिन्न प्रकारका विभेदविरुद्ध मानवीय सङ्घर्ष भयो ।”