काठमाडौँ, ३० बैशाख । निरंकुश कानूनी व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता गरेको भन्दै प्रेस युनियनले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकूल बाँस्कोटालाई बहिष्कार गर्ने भएका छन् ।
लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको हो । साथै प्रेस युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति
मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा गर्न खोजिएको ‘कु’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरी सार्वजनिक गरिएको छ ।
बैठकका निर्णयहरूः
१. मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने सञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तर्राष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।
२. मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने । काठमाडौ उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने । काठमाडौ उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।
३. मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तरक्रिया गर्ने । उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने ।
४. मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकारविरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने । काठमाडौ उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउँसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागिहुन निर्देशन दिने । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागी हुन अपिल गर्ने ।
५. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरूले गरेका सबै कार्यक्रमहरूमा सक्रिय सहभागिताको लागि देशभित्र र बाहिर रहेका सबै सदस्यहरूलाई निर्देशन गर्ने ।
अजयबाबु शिवाकोटी
महासचिव










प्रतिक्रिया दिनुहोस्