जनकपुरधाम, ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गरेकी छन् ।
सोमबार जानकी नवमीको अवसरमा जानकी मन्दिरमा पूजाअर्चनापश्चात सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘बेटी पढाऔं, बेटी बचाऔुं अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटो रहेको बताइन ।
उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । ‘यो चिन्ताको बिषय हो ।’ यसको अन्त्यका लागि हामी सबै कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ ।’
राष्ट्रपति भण्डारीले समृद्धिको लागि कृषिलाई आधुनिकीकरण एवं व्यावसायीकरण गरी मिथिलाको उर्वर भूमिलाई सदुपयोग गर्न आग्रह गरेकी छन ।
विदेहका राजा जनकले कृषिकरण महायज्ञ आयोजन गर्दा सीताको जन्म भई विख्यात भएको यस भूमिले देशको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले अहिले यही भूमिमा कृषि क्षेत्रमा उत्पादनमा कमी आउनु दुस्खद रहेको बताइन ।
उनले भनिन्, ‘चुरे क्षेत्रको संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गरी दिगोग विकासको अवधारणासहित कृषिको आधुनिकीकण एवं व्यवसायीकरण गर्न यस भूमिको प्रचुर उपयोग गर्नु पर्दछ ।’ ‘यहाँ अवस्थित अपार प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन मेरो आग्रह छ ।’










प्रतिक्रिया दिनुहोस्