Banner News

सिद्धान्त र प्राथमिकताको आधारमा बजेट अघि बढ्नेछ : मन्त्री खतिवडा



काठमाडौँ, ३१ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सोच अनुसारको सिद्धान्त र प्राथमिकताको आधारमा बजेट अघि बढ्ने स्पष्ट पारेका छन ।

सोमबार राष्ट्रियसभामा बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरि न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने बताए ।

मन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने विश्वास दिलाएका छन् ।  कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने र सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तिय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए ।

संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने र त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उनले आग्रह गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा विश्वस्त पारेका छन ।

उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताए । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।