Banner News

विकासका लागी नयाँ मोडलको खोजी गर्नु आवश्यक : अध्यक्ष दाहाल



काठमाडौँ, ३१ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने बताएका छन ।

अध्यक्ष दाहालले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने बताए ।

अध्यक्ष प्रचण्डले वैदेशिक रोजगारीले देशमा आम्दानीभन्दा बढी समस्या सिर्जना गरेको भन्दै देशको स्रोत साधनको अधिकतम प्रयोग गरी नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताउदै उनले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको छ । हामी विदेशिएका युवाले ल्याएको रेमिट्यान्सको मात्र हिसाब किताब गरिरहेका छौं । त्यो भन्दा ठूलो समस्या परिवार विगठनको छ ।’

२ दिनसम्म चल्ने उक्त सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास समेत व्यक्त गरेका छन ।