Banner News

आवेग र उत्तेजनामा आउन आवश्यक छैन, विधेयक परिमार्जन गर्न सकिन्छ : प्रम ओली



काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कुरामा आवेग र उत्तेजनामा आउन आवश्यक नरहेको बताउँदै कुनै पनि विधेयकमा समस्या रहे परिमार्जन गर्न सकिने बताउनुभएको छ ।

भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधवार साँझ स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे उठेको प्रश्नको उत्तर दिँदै नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उहाँले सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाउनुभयो । उहाँले ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।” वर्तमान सरकार जननिर्वाचित सरकार भएकाले यसलाई कोष्ठभित्रको ‘कम्युनिष्ट’ सरकार भनेर कुटिल व्याख्या नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाउनुभएको उहाँले भन्नुभयो, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।”