Banner News

राष्ट्रको सभ्यता र पहिचान नै समृद्धिको आधार : उप्रधानमन्त्री पोख्रेल



काठमाडौँ, २ जेठ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।’

बबरमहलमा रहेकाे आर्ट काउन्सिलमा आयोजना गरिएको प्रर्दशनीको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उहाँले त्यस प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ प्रदान गरिएको थियो । उपप्रधानमन्त्री पोखरेलले कलाकारद्वय ताम्राकार र राईलाई नगद १ लाखसहित सम्मान प्रदान गर्नुभएको हो । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ सुरु भएको प्रर्दशनी २० दिनसम्म चल्नेछ ।