बाग्लुङ, ३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशका सबै आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण भइसक्ने बताउनुभएको छ ।
घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । “संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन”, उहाँले भन्नुभयो ।
उहाँले स्रोत, साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नुपर्ने अवस्था गम्भीर भएको भन्दै यसलाई आर्थिक रुपान्तरणमा प्रयोग गर्न उत्खनन गर्न नसकेर अलपत्र अवस्थामा रहेका तामा, फलामलगायतका खानीलाई अध्ययन गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
मुख्यमन्त्री गुरुङले कम्युनिष्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्न निर्देशन पनि दिनुभयो । उहाँले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले गरीबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाणपत्र होइन, सीप हासिल गरेको प्रमाणपत्र भएको हुनुपर्ने उल्लेख गर्दै गरीबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकार पर्यटनबाटै समृद्ध बन्नेमा कुनै शङ्का नरहेको उहाँको भनाइ थियो ।
उहाँले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्