Banner News

व्यवसायमा नयाँ र उर्जावान युवाहरु आउनुपर्छ : मन्त्री डा. खतिवडा



काठमाडौँ, ३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुढो कुकुरले नयाँ जुक्ति सिक्न सक्दैन् भनेजस्तै व्यवसायमा पनि नयाँ र उर्जावान युवाहरु आउनुपर्ने बताउनुभएको छ ।

राजधानीमा बिहीबारदेखि सुरु भएको नेपाल भारत फ्रेञ्चाइज इन्भेष्टमेन्ट एक्सोमा बोल्दै मन्त्री डा. खतिवडाले कुनै पनि मानिसले आर्जन गरेको शिक्षालाई सीपसँग जोड्दै लागानीको अवसर र व्यापक सम्भावना रहेको बताउनुभएको छ ।

उहाँले नेपालको पर्यटन, स्वास्थ्य, खेलकुद, उद्योग, बैंक तथा वित्तिय क्षेत्र लगायतका क्षेत्रमा लगानी गर्नका लागि भारतीय व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना र अवसर छन्, हामीले केही समय अगाडि लगानी सम्मेलन पनि सम्पन्न गर्र्यौ पर्यटन क्षेत्रमा पनि निकै अवसर छ ।’

नेपालको ९५ प्रतिशत पर्यटन क्षेत्रले निजी क्षेत्रले धानेको भन्दै उहाँले त्यसमा सहकार्य गर्न आग्रह समेत गर्नुभयो । त्यस्तै उहाँले त्यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपालमा स्टार्ट अप व्यवसाय सुरु गर्नका लागि धेरै अवसर रहेको भन्दै उहाँले युवाहरुलाई नेपालमा लगानी गर्नका लागि आग्रह समेत गर्नुभयो ।

नेपाली र भारतीय व्यवसायीहरु सहभागी कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको अवस्थामा लगानी गर्नु निकै उत्तम समय रहेको धारणा व्यक्त गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि जनसंख्याका आधारमा ठूला मुलुक भारत र चीनबाट ५ मिलियन पर्यटक मात्रै ल्याउन सकिन्छ र त्यसका लागि आधार तयार पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कही कतै बौद्धिक सम्पत्ति अर्थात ब्राण्डलाई भ्रमपूर्ण तरिकाले प्रयोग भएको र त्यसलाई नियन्त्रण गर्न सरकारले ‘बौद्धिक सम्पत्ति अधिकार’ छिट्टै कार्यान्वयनमा ल्याउने गरी मस्यौदा तयार भइरहेको छ ।’

त्यसैगरी उनले व्यवसाय शुरु गर्न चाहनेका लागि बजेट अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थामार्फत सहकार्य भइरहेको समेत जानकारी गराउनुभयो ।