Banner News

जननेता भण्डारीको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन : प्रम ओली



काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताएका छन ।

शुक्रबार मदननगर बल्खुमा २६ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीको विचार छाड्न नमिल्ने बताउदै  उनले भने, ‘जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको छ । सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताउदै उनले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । यस्ता कुरामा हाम्रो पार्टी सजग र एकताबद्ध ढंगले अघि बढ्नुपर्छ । गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’

प्रधानमन्त्री ओलीले अहिलेको बहुमत कतिलाई पचेको छैन, अर्कोपल्ट दुई तिहाइ ल्याउँने बताउदै उनले भने, ‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं ।, ‘किनकी सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेको छ ।’