राजनीति

सरकारको प्राथमिकता कृषि, उर्जा, पर्यटन तथा पूर्वाधार विकासमा : मन्त्री खतिवडा



काठमाडौँ, ४ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले प्राथमिकताको सूचीमा राखेका कृषि, उर्जा, पर्यटन, पूर्वाधार विकास लगायतका अन्य क्षेत्रगत विषयहरुमा दृष्टिकोण स्पष्ट रहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित पूर्वबजेट छलफलमा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउन आगामी बजेट केन्द्रित हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउन आगामी बजेट केन्द्रित हुनेछ ।’

मन्त्री खतिवडाले निजी क्षेत्र नै अर्थतन्त्रको मुख्य भएको भन्दै उहाँले लगानीको वातावरण निर्माणका लागि आगामी बजेट केन्द्रित हुने, प्रक्रियागत झन्झटहरु हटाउनेतर्फ पनि सरकार लागिपरेको बताउनुभयो । उहाँले संख्यात्मक भन्दा पनि गुणात्मक क्षमताको विकास गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने गरी निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले स्वदेशी उत्पादन बढाई आयात प्रतिस्थापन व्यापार घाटा न्युनिकरण गर्न सरकार गम्भीर भएको भन्दै यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिम रावल, नेपाल राष्ट्रिय व्यापार संगठनका प्रतिनिधिहरुले बजेटमा आफ्नो सुझाव राखेका हुन ।