काठमाडौँ, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको २५६३ औँ जन्मजयन्ती तथा किराँतको उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
बुद्धको जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आआफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्न चाहन्छु ।’
राष्ट्रपति भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले मौलिक र विशिष्ट रूपमा मनाइने उभौली पर्वले नेपालीबीच आपसी सद्भाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “यस्ता पर्वहरूले हाम्रो साँस्कृतिक धरोहर र सम्पदालाई समुन्नत तुल्याउँदै विविधताको सम्मान गर्ने संस्कृतिको प्रवद्र्धन र विकास गर्न सघाउँछ भन्ने मलाई लाग्दछ ।”










प्रतिक्रिया दिनुहोस्