भक्तपुर, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरमा समृद्धिको ज्योती बलेको बताउँदै विकासमा ऐतिहासिक क्रान्ति भएको बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइको लागतमा ज्योती माध्यमिक विद्यालयको चारकोठे पक्की भवनको शिलान्यास गर्दै सांसद बस्नेतले प्रभावकारी, गुणस्तरीय र सक्षम जनशक्तिको उत्पादन गर्दै शिक्षाको ज्योती विकास र विस्तार गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नाम अनुसारको काम गर्नुपर्ने भन्दै ज्योती माध्यमिक विद्यालयले देशभरको शिक्षा क्षेत्रमा मार्गनिर्देश गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बस्नेतले सूर्यविनायक नगरपालिकाले सामुदायीक तथा सरकारी विद्यालयलाई स्थानीय तहसँग जोड्पर्छ भन्ने नयाँ धारणा ल्याएको र सोही अनुसार निर्वाचित जनप्रतिनिधिहरु नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु पर्ने व्यवस्था गरेको बताउँदै स्थानीय तहले अपनत्व ग्रहण गर्नु नै शिक्षामा सामुदायीक विद्यालय प्रति आकर्षण बढेको बताउनुभयो । उहाँले अघिल्लो महिनामात्र सूनपामा तीन वटा विद्यालयको उद्घाटन गरिएको र अन्य चार पाँच वटा विद्यालयहरु तिव्र गतिका साथ निर्माण भइरहेको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भुकम्पका कारण क्षत विछ्यद भएका विद्यालयका भवनहरुको पुनःनिर्माण गर्ने कार्यमा भक्तपुरले ठूलो फड्को मारेको बताउनुभयो । शिक्षा, स्थास्थ्य, यातायात लगायतको क्षेत्रमा भक्तपुरले ऐतिहासिक सफलता हासिल गरेको उहाँले बताउनुभयो ।
भक्तपुरमा चारै दिशाबाट सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तिव्र गतिमा सडक विस्तार तथा निर्माणका कार्यहरु भइरहेको बताउँदै उहाँले वडा कार्यालयबाट आउने सडक उपत्यका विकास प्राधिकरणबाट पटक पटक बजेट विनियोजन गरी आठ मिटरको चौडाई बनाउने काम सम्पन्न भएको बताउनुभयो ।
उहाँले कटुञ्जे र किवाचोक जोड्ने सडक तथा पुलको निर्माण सँगै विकास र सहकार्यमा मजबुद बनाएको बताउँदै हात्ती गौडाबाट किवाचोक आउने ठाउँमा पुल निर्माण भएसँगै हात्ती गौडालाई गुराँस पार्क बनाउँदै मर्निक वाकको रुपमा विकास गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।
मेलम्चीले ढल तथा गुण्डु, कटुञ्जे, दधिकोट, बालकोट लगायतका ठाउँहरुमा चार करोड बजेट विनियोजन गरी डिपिआरको प्रकृया अघि बढेको जानकारी गराउँदै सांसद बस्नेतले यो वर्ष कटुञ्जे र बालकोटलाई ढलको मास्टर प्लान बनाई वहुवर्षीय योजनामा पार्न सफल भएको साथै आगामी वर्ष दधिकोट, गुण्डु र सिपाडोलको ढल व्यवस्थापन गर्ने गरी खाने पानी मन्त्रालयले प्रकृया अघि बढाइसकेको बताउनुभयो ।
समृद्धि र विकासमा सवैले हातेमालो गर्नु पर्ने बताउँदै उहाँले गुण्डु, किवाचोक, तीनधोरे, धोविखोला खानेपानी लगायतका मर्ज गरी उक्त स्थानमा खानेपानीको समस्या समाधान गर्ने गरी काम अघि बढेको र उक्त निर्माण कार्य सम्पन्न भएसँगै उक्त स्थानका समुदायले अबको वीसैं वर्षसम्म पानीको समस्या भोग्नु नपर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत, वडाध्यक्ष रवीन्द्र सापकोटा, प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
पुनःनिर्माण प्राधिकरणको सहयोगमा निर्माण शुरु गरिएको उक्त भवन आगामी ६ महिनमा सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरबाट स्वीकृत रु ६९ लाख ६९ हजारको लागतमा उक्त भवन निर्माण कार्य शुरु गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्